Saturday, April 16, 2016

आखिर तैले किन लेख्छस ?

क्याम्पस पढ्दा साथीले आखिर तैले किन लेख्छस भनेर सोधेको प्रश्नको उत्तर अहिले सम्म भेटेको छैन । पाँच बर्ष अघि मैले किन लेख्छु भनेर गम्ने जमर्को गरेको थिएँ । आज फेरी उही बिषय बस्तुमा फरक समय, स्थान र फरक प्रसंगमा लेख्ने मेसो मिलेको छ। म समय र परिस्थिति बदलिंदा सोचाई र भोगाई पनि संगसंगै बदलिन्छन भन्ने मान्छे !


लेखक, ऊ आफ्नो एउटा ब्यक्तिगत सोच अनि भोगाईको परिधि भित्र रमिरहेको हुन्छ । एउटा व्यक्तिगत सिमाना, आफ्नो परिधि, नितान्त आफ्नो । जुनबेला ऊ नितान्त आफु आफ्नो होस् । ऊ आफूसँग बोलोस् । ऊ आफुलाइ सुनोस । अनि आफु छु भन्ने भोगाइको एकोहोरो मजा लुटोस । कोरिएका शब्द अनी तिनमा कुँद्न खोजीएका भोगाई बीचमा यो ब्यक्तिगत परिधिको बिशेस महत्व हुन्छ । शब्द कोर्न फुर्सद जरुरि छ, लगाव जरुरि छ अनी शब्द कुँद्न सोच जरुरि छ !

जमाना कहाँ बाट कहाँ पुग्यो । दशैंमा बा को हातको टिको मान्छेले स्काइप,भाईबर र फेसबुकमाँ लगाए भनेर सुनियो । गूगल ह्यंगआउटमा छिमेकी अस्ट्रेलियन दाईका परिवार र अमेरिका बस्ने भतीजले मिलेर नेपालमा ठुल्दाईलाई भट्याउन लगाएर क्यानडाका फुपुको छोराले इसेवाबाट दक्षिणा अर्पण गरे अरे । जहाँ परिधि, परिस्थितको बोध थियो त्यहाँ कुनै एक रमझम साँझ मनाईयो । जहाँ बोध थिएन त्यहाँ यो ढोंग भनियो । प्रविधिले यो संसारलाई सेकेन्ड-सेकेन्ड जोडिन सक्ने बनायो । संसारको जुनै कुनाको बार्दलीमा बसेर लेखे नी हरेक कुनामा पढ्न मिल्ने भयो ! संचारका साधन अनेक आए । प्रविधिले बोल्ने, लेख्ने बाटा अनेक बने । प्रकाशनका अनेक माध्यम बने । 

अनी सृजनाको नाममा धेरै अक्षर केरकार गरिए । नेपाली नलेख्ने नेपालीहरुले नेपाली लेख्न थाले ! यहाँ लेख त केरिए तर पाठक भेटिएनन् । बाटा अनेक बने तर बटुवा हराए । लेखक बेफ़ुर्सद बनिदिए । पाठक बेफ़ुर्सद बनिदिए । जुन प्रविधिले संचार सजिलो बनायो त्यहि प्रविधिले मान्छेको फुर्सद बाँडिदियो । छीन का छीन लेखेको लेखै, सुनकै सुनै, बोलको बोलै अनि खोजेको खोजै गर्ने प्रबिधिको जंजाल माँ फसेर मान्छे यहाँ न शब्दका पारखी रहे, न धुन का । न रंगका शोखिन आय न ढोंग का । न फुर्सदका।  न गफका, न चौतारिका । न बाघचाल खेले मान्छेले न गुलेली । न हाम्रा गीतमा पीडा छन्, न खुसि !  हाम्रा फिलिममा न कथा छन्, न व्यथा, न समाज न संस्कार ! हाम्रा कलामा न इतिहास छन् न भबिष्य ! हाम्रा पत्रिकामा न पत्रकारिता छन् न यथार्तता ! देश मा न भेष छ, न देशवासी को परिभाषा ! राजनीतिमा न सोच छन् न सपना ! यहाँका मनशामा न सुर छन् न ताल ! सर्जकहरुले कसका लागि सृजना गरुन ? लेख्नेहरुले के का लागि लेखुन ? पढ्नेलाई बुझ्ने फुर्सद रहेन । लेख्नेलाई कुँद्ने फुर्सद रहेन । फुस्रा लेखाई अनी खोस्टा बुझाईले समाज कता जाओस ! अनि सृजना पैसा भयो । पैसा सृजना बन्न सकेन। समय रुपियाँ भयो रुपियाँ फुर्सद बन्न सकेन ।

लेख्नका लागि लेख्नु, आफ्ना लागि लेख्नु, समयका लागि लेख्नु  र पाठकका लागी लेख्नु बिचका भोगाईहरु मैले एक एक गरि भोग्ने मौका पाएको छु । धेरै पछि मैले आज एक पाठक भेटेको छु । जसले मेरो सृजना बुझ्ने चासो राखेको छ । जसले मेरा शब्दहरुको अर्थ खोजेको छ । जसले कोसिस गरेको छ २-४ प्रश्न सोध्न । अनि जसले मेरो भोगाई भोग्ने सोच बाँडेको  छ । दुरिमा कहाँ छ, कता छ तर ऊ यो समयमा साथमा छ । मेरा लेखमा छ । मैले त्यो पाठक को लागि लेख्दै छु । जसलाई मैले एक कप चिया र गफ दिन सकिन उसलाई मेरा सृजना दिने जमर्को गरेको छु । 

1 comments :

Post a Comment